काठमाडौ । सर्लाहीको वनमा लागेको डढेलोको कारण तराईमा वायु प्रदूषण बढेको छ। केही दिनदेखि सर्लाही, सिन्धुली, महोत्तरी, रौतहट लगायतका जिल्लाका जंगलमा डढेलो लागेको छ । त्यहाँका चारकोसे झाडी र चुरेक्षेत्रको वनमा लगातार लागेको डढेलो लागेको छ । जसका कारण तराईका जिल्लामा प्रदूषण बढाएको हो । वन क्षेत्रमा लागेको डढेलो र त्यसबाट निस्केको धुवाँको मुस्लोले धेरैजसो ठाउँ ढाकेको छ ।
पिरो धुवाँ र खरानीको धुलोको कारण सर्वसाधारणमा स्वास्थ्य समस्या समेत देखिन थालेको छ । सर्वसाधारणलाई आँखा पोल्ने, सास फेर्न गार्हो हुने जस्ता समस्या देखिन थालेको त्यहाँका स्वास्थ्यकर्मीले बताएका छन् । अस्पतालमा त्यस्ता बिरामीको चाप बढ्न थालेको छ । तीन हप्तादेखि लगातार लागेको डढेलोले मध्ये तराईमा पर्ने चारकोसे झाडीको राष्ट्रिय वन, साझेदारी वन, चक्कला वनका धेरैजसो क्षेत्र सखाप भएको छ ।
दिनभरि वनमा लागेको डढेलोको धुवाँले जङ्गल छेउको बस्ती ढाक्ने गरेको छ । सर्लाही खण्डमा पर्ने मुर्तिया, घुर्कौली, फूलजोड, बाँके र उत्तरी चुरेक्षेत्रका चुरे जङ्गलमा लगातार तीन हप्तादेखि ठूलो डढेलो लागिरहेको छ। डढेलो नियन्त्रणका लागि पूर्व तयारी नहुँदा त्यसबाट वन, वन्यजन्तु ,जैविक विविधता माथि नराम्रो असर पर्ने गरेको विज्ञको भनाइ छ।


