जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका–४ खुजरी चन्हामा एक अनौठो दृष्य देख्नु पर्यो ।
त्यहाँ आफ्नी ६८ वर्षीया श्रीमती अमिर्ती देवीलाई उपचारका लागि ७० बर्षीय पति रामआशिष मण्डलले झोलुंगोमै बोकेर पुर्याए । उपचारका लागि आएका उनीहरु राति जनकपुरको केवट कुट्टीमा बास बसे ।
राति ११ बजे मुटुको समस्याले अमिर्ती छटपटाउन थालिन्, दमको समस्या बढ्न थाल्यो । पति रामआशिष बेचैन भए ।
हतारहतार जनकपुर प्रादेशिक अस्पताल पुर्याउन छेउकै सडक हुँदै गुडेका अटो रिक्सा, एम्बुलेन्स र गाडीलाई रोकेर बिन्ती गरे । तर कसैले अमिर्तीलाई अस्पताल पुर्याइदिन मानेनन् ।

केहीबेरमा आफन्त मधुर मण्डल आइपुगे । उनलाई देखेपछि ७० वर्षका रामअशिषलाई सहयोग पुग्ने विश्वास पलायो । मधुरले दिदी नाता पर्ने अमिर्तीलाई बोकेरै भएपनि अस्पताल पुर्याउन तयार भए ।
एउटा बाँसको टुक्रा कुट्टीबाट खोजे । दुई छेउमा कपडा बाँधेर झोलुंगो बनाए । त्यसमै अमिर्तीलाई राखेर रामआशिष र मधुरले डेढ किलोमिटर टाढा रहेको प्रादेशिक अस्पताल पुर्यायो । समयमै झोल्ना (झोलुंगो) मै लगेपछि अमिर्तीको बेलैमा उपचार भयो ।
प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी अमिर्तीले स्वास्थ्यमा सुधार भएको बताइन् । ‘मलाई समयमै अस्पताल नल्याएको भए बाँच्ने थिइनँ होला’ अमिर्तीले भनिन् । उनी एकवर्षदेखि मुटु र मधुमेहको बिरामी छन् ।

माधुरले आफूले पनि बिन्ती गर्दा कुनै अटो, एम्बुलेन्स र गाडीले ल्याउन नमानेपछि झोल्नामै बोकेर अस्पताल पुर्याएको बताए । ‘पैसा दिन्छु, लगिदिनुस् भनेर धेरैलाई आग्रह गर्यौं तर कसैले मानेनन्’ उनले भने ।
